काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदाउँदा राजनीतिक दलहरूलाई ‘क्षणिक हावाहुरी’को संज्ञा दिँदै उनीहरूको आयु छिट्टै सकिने टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित दोलखा-काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उनले वैचारिक स्पष्टता, साङ्गठनिक आधार र दीर्घकालीन कार्यक्रमबिना मुलुकको जटिल राजनीतिलाई निकास दिन नसकिने दाबी गरे ।
उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलप्रति लक्षित गर्दै निर्वाचनको संघारमा देखिएको आकर्षणलाई “मौसमी प्रभाव”का रूपमा व्याख्या गरे । “हावाहुरी केही दिन चल्ला, तर सधैँ टिक्दैन,” भन्दै उनले आवेगको लहरले राज्य सञ्चालनको दायित्व बहन गर्न नसक्ने तर्क गरे। देशलाई वैचारिक तथा सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति आफ्नो पार्टी भएको उनको जिकिर थियो ।
प्रचण्डले नयाँ दलहरूले बाँडेको वाचा र सपनालाई ‘भ्रमको खेती’को संज्ञा दिँदै जनता क्रमशः स्थापित एजेन्डा र संगठनतर्फ फर्किरहेको दाबी गरे । इतिहासका विभिन्न मोडमा जनआन्दोलनद्वारा अस्वीकृत शक्तिहरूले निर्वाचन बिथोल्न चलखेल गरिरहेको आरोपसमेत उनले लगाए। देशमा शान्तिपूर्ण आन्दोलनकारीलाई लक्षित गर्ने र विध्वंसकारी गतिविधिलाई प्रश्रय दिने दुई प्रवृत्ति सक्रिय रहेको उल्लेख गर्दै उनले ती दुवै विरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए ।
आगामी फागुन २१ मा तय निर्वाचनलाई निर्णायक मोडका रूपमा चित्रित गर्दै उनले कार्यकर्तालाई “अबको १२ दिन युद्धस्तरमा खटिन” निर्देशन दिए । संगठित अभियान, घरदैलो, मतदाता भेटघाट र एजेन्डा-केन्द्रित बहसलाई तीव्र बनाउँदै देशको पहिलो शक्ति बन्ने लक्ष्य हासिल गर्नुपर्ने उनको भनाइ थियो ।
सभामा सहभागी नेताहरूले पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर मतदातासमक्ष जान आग्रह गरेका थिए। प्रचण्डले पार्टीको ऐतिहासिक भूमिका-शान्ति प्रक्रिया, गणतन्त्र स्थापनादेखि संघीयता कार्यान्वयनसम्म-स्मरण गराउँदै आगामी चरणमा आर्थिक रूपान्तरण र उत्पादनमुखी विकासलाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरे ।


