काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले बदलिँदो काँग्रेस विगतमा पार्टीले गरेका सकारात्मक कामहरूको निरन्तरता भएको बताएका छन् । सर्लाहीमा मतदातासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काँग्रेस विगतका अनुभवबाट सिक्दै नयाँ ऊर्जा र जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गरे ।
थापाले अतीतमा भएका कमजोरीहरूलाई कसैको टाउकोमा दोष थोपर्ने प्रवृत्ति नराखी पार्टी सुधार र रूपान्तरणको बाटोमा अघि बढेको स्पष्ट पारे । लोकतान्त्रिक अभ्यासमा आत्मसमिक्षा आवश्यक हुने बताउँदै उनले काँग्रेसले त्यो बाटो रोजेको धारणा व्यक्त गरे । उनका अनुसार चुनाव केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई देशलाई स्थायित्व, सहकार्य र सहमतिको दिशामा डोर्याउने अवसर पनि हो ।
उनले चुनावपछिको अवस्थालाई विशेष संवेदनशील मान्दै विगतका जस्ता हिंसा, आगजनी र अराजकता दोहोरिन नहुनेमा जोड दिए । सार्वजनिक सम्पत्ति राष्ट्रको साझा धरोहर भएकाले त्यसको संरक्षण सबै राजनीतिक दल र नागरिकको साझा दायित्व भएको उनको भनाइ थियो। उनले स्पष्ट शब्दमा भने, “चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन । फेरि बनाएको सिंहदरबार जल्नु हुँदैन। फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन ।”
थापाले चुनावपछि असन्तुष्टि सडकमा विस्फोट हुने परिस्थिति आउन नदिनु नै लोकतान्त्रिक परिपक्वताको संकेत हुने बताए । राजनीतिक दलहरूले मतदाताको भावना बुझ्दै संयमता, संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो । रिस, उत्तेजना र घृणाले समाजलाई विभाजनतर्फ धकेल्ने उल्लेख गर्दै उनले सबैलाई समेटेर अघि बढ्ने साहस नेपाली काँग्रेससँग रहेको दाबी गरे । उनले भने, “चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ, रिसले मात्र हुँदैन, उत्तेजनाले मात्र हुँदैन, घृणाले मात्र हुँदैन । सबैलाई मिलाएर लिएर जाने साहस काँग्रेसले राख्छ ।”


