बुद्ध एयरको विमान चन्द्रगढीमा रनवे दुर्घटना  : ५१ यात्रु र चालक दल सुरक्षित


झापा । बुद्ध एयरको एटीआर-७२ विमान चन्द्रगढी (भद्रपुर) विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।  शुक्रवार राति करिब ९ः१० बजेको समयमा काठमाडौँबाट चन्द्रगढीका लागि उडेको बुद्ध एयरको उडान संख्या ९०१ अवतरणका क्रममा रनवेको पूर्वतर्फ ओभर रन भई करिब ३०० मिटर पूर्वपट्टि भासिँदै क्षतिग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विमानमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनामा कुनै पनि प्रकारको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको र तत्काल उद्धार तथा सुरक्षात्मक व्यवस्था मिलाइएको बताइएको छ ।

प्राप्त जानकारीअनुसार विमान काठमाडौँबाट राति ८ः२३ बजे चन्द्रगढीका लागि उडेको थियो । चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा मौसम तथा प्राविधिक कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । दुर्घटनापछि विमानस्थल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी आवश्यक नियन्त्रण र व्यवस्थापन गरिएको थियो ।

घटनापछि विमानस्थलको उडान सञ्चालन केही समय प्रभावित भएको छ भने सम्बन्धित निकायले घटनाको कारण पत्ता लगाउन प्राविधिक जाँच सुरु गरेको जनाएको छ । बुद्ध एयर र नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीले क्षतिग्रस्त विमानको निरीक्षण गर्दै विस्तृत विवरण संकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्