बेलबारी । नेकपा (माओवादी केन्द्र) का पूर्व महासचिव देव गुरुङले वर्तमान अवस्थामा मुलुक गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् । मंगलबार बेलबारीमा सम्पन्न नेपाली कम्युनिस्ट पार्टी बेलबारी नगर समितिको नगर एकता सन्देश सभा लाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटको अवस्थामा पुगेको दाबी गरे ।
गुरुङले झन्डै सात दशक लामो संघर्षको परिणामस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराउँदै जनयुद्ध, संयुक्त जनआन्दोलनलगायत विभिन्न आन्दोलनको बलिदानबाट प्राप्त उपलब्धि अहिले गम्भीर संकटमा परेको बताए । “संविधान छ कि छैन भन्ने अवस्था आएको छ, संविधान मानौं कोमामा पुगेको छ,” उनले भने, “राजनीतिक दलहरू नाम मात्रका बनेका छन् र व्यवहारमा एक प्रकारको निर्दलीय प्रणाली हावी हुँदै गएको छ ।”
उनका अनुसार मुलुकको राष्ट्रिय अस्तित्व, एकता र अर्थतन्त्रसमेत जोखिममा परेको छ। विदेशी बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक एकाधिकारका कारण राष्ट्रिय अर्थतन्त्र संकटमा पुगेको उल्लेख गर्दै गुरुङले राज्यका संगठित संस्थाहरू कमजोर बन्दै गएको बताए। उनले ‘जेन-जी आन्दोलन’ को क्रममा राज्य नै नदेखिएको अनुभूति भएको उल्लेख गर्दै संविधानसमेत धरापमा पर्ने प्रयास भएको आरोप लगाए । यद्यपि, राष्ट्रपतिको भूमिकाका कारण संविधान जोगिएको उनको भनाइ थियो ।
गुरुङले राजनीतिक दलहरूकै कारण देशको अस्तित्व सुरक्षित रहेको दाबी गर्दै गैर-राजनीतिक समूह तयार पारेर देशलाई अस्थिरतामा धकेल्ने प्रयास भइरहेको आरोप लगाए । “नेपाल बनाउने नाममा राष्ट्रिय एकतामा फुट, अन्तरविरोध र ध्वंस सिर्जना गर्ने प्रयास भइरहेको छ, यो विघटनवाद हो,” उनले भने । सिद्धान्त, आदर्श र मूल्य-मान्यताविहीन समूहहरू निजी स्वार्थमा केन्द्रित हुने र त्यसले नेपाली भावना बोकेर अघि बढ्न नसक्ने उनको टिप्पणी थियो । उनले राजनीतिक समूह भने निजी स्वार्थमुक्त हुनुपर्नेमा जोड दिए ।



