एनपिएलमा ‘म्याच फिक्सिङ’ प्रयास : भारतीयसहित दुई जना लाजिम्पाटबाट समातिए


काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘म्याच फिक्सिङ’को प्रयास भएको खुलासा भएको छ । सोही आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले विशेष अपरेसनमार्फत पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र नेपालको बर्दिया घर भई हाल भारतको चण्डीगढमा बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत एनपिएलमा सहभागी केही खेलाडीहरूसँग निरन्तर सम्पर्क गर्दै आएका थिए। ह्वाट्सएप र इन्स्टाग्राम प्रयोग गरी ‘स्पोन्सर’ बन्ने बहानामा नजिकिने, खेलाडीको विश्वास जित्ने र त्यसपछि खेलको नतिजामा प्रभाव पार्न सक्ने आर्थिक प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ । उनीहरूले सोही माध्यमबाट फिक्सिङ प्रस्ताव पठाएको, प्रलोभनस्वरूप पैसाको अफर गरेको र खेलाडीहरूलाई मनोवैज्ञानिक रूपमा प्रभावित गर्न खोजेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरी टीमले मंगलबार काठमाडौँको लाजिम्पाटबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउपछि दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

एनपिएलजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो राख्ने प्रतियोगितामा फिक्सिङको प्रयास हुनु खेलकुदको विश्वसनीयता र शुद्धतामाथि ठुलो चुनौती भएको प्रहरीको भनाइ छ । यस प्रकरणपछि एनपिएल व्यवस्थापन र सुरक्षा निकायहरूले खेलाडी सुरक्षा, अनधिकृत सम्पर्क र सट्टेबाजी नियन्त्रणबारे थप कडाइ गर्ने संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्